घोराही, २६ चैत । प्रेस चौतारी नेपाल दाङले यही वैशाख मसान्तभित्र १० वटै पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल, दाङको सोमबार घोराहीमा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि नेताहरूलाई जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत घोराहीमा सविन प्रियासन र महेश बस्नेत, तुलसीपुरमा जेएन सागर र बसन्त परियार, बबईमा प्रेमबहादुर राम्जा र रामप्रसाद सुवेदी, दंगीशरणमा संगीत बस्याल र दिप्तीशिखा चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी शान्तिनगरमा गणेश आचार्य र हिमाल विश्वकर्मा, लमहीमा दशरथ घिमिरे र लक्ष्मी पोखरेल, राप्तीमा टीका बस्नेत र हुमा सुनार, गढवामा दुर्गालाल केसी र दीपक चौधरी, राजपुरमा ओपेन्द्र बस्नेत र अरुण नेपाली तथा बंगलाचुलीमा निमुसंगम घर्ती र सुशील परियारलाई जिम्मेवारी दिइएको छ ।

बैठकले प्रेस चौतारी दाङलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्न तथा संगठनको कामलाई प्रभावकारी बनाउनका लागि पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समितिको सल्लाहकारमा सुदर्शन रिजाल, जेएन सागर, प्रेमबहादुर राम्जा, पाण्डव प्रसाद शर्मा र दिप्तीशिखा चौधरीलाई चयन गरिएको सचिव निमु संगम घर्तीले जानकारी दिनुभयो ।

बैठकले चौतारीको इतिहास, वर्तमान अवस्था र समग्र पत्रकारिताको विषयमा केन्द्रित रहेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य कुमार दशौदीले पछिल्लो समय प्रतिगामी शक्तिहरू सलबलाएको उल्लेख गर्दै त्यसका विरुद्ध प्रेस चौतारीका सदस्यहरू एक ढिक्का भएर प्रतिवादमा लाग्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले समृद्धिको पक्षमा अगाडि सारेका योजनाहरूलाई सफल बनाउन पत्रकारहरूको भूमिका अहम हुने विश्वास व्यक्त गर्नुभयो । दशौदीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगतको भूमिका उल्लेखनीय हुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले एमाले नेतृत्वमा बनेका संघीय, प्रदेश र स्थानीय सरकारले राम्रा कामहरू गरिरहेको उल्लेख गर्दै ती कुराहरू जनता समक्ष ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पत्रकारहरूले समाचार मात्र लेख्ने नभई विचार निर्माणमा पनि भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले लोकतान्त्रिक व्यवस्थामा मात्र प्रेस स्वतन्त्रता प्राप्त हुने उल्लेख गर्दै प्रतिगामी शक्तिका विरुद्ध पत्रकारहरूले खरो ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले प्रेस चौतारीका सदस्यहरू अब्बल र क्षमतावान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज टीका बस्नेतले तत्काल प्रदेशको बैठक बसेर आगामी कार्ययोजना ल्याइने बताउनुभयो ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले प्रेस चौतारीका सदस्यहरूलाई कमिटी र त्यसको महत्वबारे दर्शाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा भर्खरै सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज टिका बस्नेत केन्द्रीय सदस्य दुर्गालाल केसी र गणेश आचार्यलाई बधाई ज्ञापन गरिएको थियो । त्यसैगरी थारू पत्रकार सङ्घकाे केन्द्रीय उपाध्यक्षमा निर्वाचितद्वय सवि थारू र दिप्तीशिखा चाैधरी र आदिवासी पत्रकार सङ्घ फनिजकाे लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित प्रेमबहादुर राम्जालाई सम्मानपत्र सहित बधाई ज्ञापन गरिएको थियो ।

प्रेस चौतारी दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो । बैठकमा सहभागीलाई उपाध्यक्ष विमल योगीले स्वागत गर्नुभएको थियो ।

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *